सप्तरी, वैशाख ८ - जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि उठेका आरोपको सत्यतथ्य पत्ता लगाउन वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन भई काम सुरु भइसकेको छ ।
समितिले घटनासम्बन्धी तथ्य संकलनसँगै एसपी केसीसँग सोधपुछ समेत अघि बढाएको जनाइएको छ ।
हालै सार्वजनिक भएको फोन संवादको अडियोमा एक व्यक्तिले प्रहरीद्वारा उजुरी लिन अस्वीकार गरिएको र कार्यालयभित्र आवश्यक सहजीकरण नगरिएको गुनासो गरेको सुनिन्छ ।
उक्त अडियो सार्वजनिक भएसँगै विषय गम्भीर बनेपछि छानबिन प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस