काठमाडौं, वैशाख १३ - काठमाडौं उपत्यकामा रहेको सुकुमवासी बस्ती हटाउने कार्य आज शान्तिपूर्ण रुपमा अगाडि बढाइएको छ। बस्ती खाली गराउन करिब २ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार आफू स्वयं फिल्डमै खटिएर कामको नेतृत्व गरिरहेका छन्। उनले हालको अवस्था नियन्त्रणमा रहेको र बस्ती हटाउने प्रक्रिया शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको बताए।
यसअघि शनिबार बस्ती हटाउने क्रममा प्रहरीमाथि आक्रमण भएको पृष्ठभूमिमा आज थप सतर्कता अपनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। आवश्यकताअनुसार सुरक्षाको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै मिलेर बस्तीका बासिन्दालाई सामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्। सुरक्षाकर्मीले मानवीय रुपमा सहयोग पुर्याउँदै काम गरिरहेको दाबी गरिएको छ।
मनोहरास्थित बस्ती क्षेत्रमा अहिले १२ वटा डोजर प्रयोग गरेर संरचना हटाउने काम भइरहेको छ। अधिकारीहरूका अनुसार कामलाई व्यवस्थित र विवादरहित बनाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस