२२ बैशाख २०८३ मंगलबार | 05 May 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डोजरले भत्काए तीन विद्यालय, सयौं विद्यार्थी अस्थायी कक्षामा



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या २८
  • काठमाडौं, वैशाख २२ - खोला–नदी किनारका बस्ती हटाउने सरकारी अभियानका क्रममा काठमाडौंका तीन सामुदायिक विद्यालय भत्काइएपछि करिब ५०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालय भवन नहुँदा अहिले पढाइ अस्थायी रूपमा सञ्चालन गरिएको छ।

    मनोहरास्थित श्री सरस्वती आधारभूत विद्यालय भत्काइएपछि विद्यार्थीहरूलाई मध्यपुर थिमिको सामुदायिक भवनमा सारिएको छ। कक्षाकोठा अभावका कारण टेन्ट र खुला ठाउँमै पढाइ सुरु गरिएको छ।

    विद्यालय प्रशासनले बहुकक्षा प्रणाली अपनाउँदै पढाइ निरन्तर राख्ने प्रयास गरेको छ। तर, पर्याप्त पूर्वसूचना नदिई भवन भत्काइएकाले शैक्षिक सामग्रीमा समेत क्षति पुगेको गुनासो गरिएको छ।

    बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत विद्यालयलाई तरुण माविमा स्थानान्तरण गरिएको छ। भवन भत्किएपछि विद्यार्थीको उपस्थिति घटेको छ र व्यवस्थापनमा चुनौती देखिएको छ।

    त्यस्तै, बाल कल्याण आधारभूत विद्यालयलाई पनि युवक माविमा सारिएको छ। शिक्षक–कर्मचारी र विद्यार्थीले नयाँ स्थानबाटै पठनपाठन सुरु गरेका छन्।

    काठमाडौं महानगरपालिकाले यो व्यवस्था अस्थायी भएको जनाउँदै आगामी दिनमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको बताएको छ। अभिभावक भने बालबालिकाको पढाइमा परेको असरप्रति चिन्तित छन्।