२९ बैशाख २०८३ मंगलबार | 12 May 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकाबाट फर्किएका स्याङ्जाका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ३०
  • स्याङ्जा, वैशाख २९ - स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई सोमबार कास्कीबाट नियन्त्रणमा लिएको हो।

    ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार पीडितको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनले एमालेका उम्मेदवार रुद्रप्रसाद पोखरेललाई ३८७ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा जित हासिल गरेका थिए।

    निर्वाचनपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौमा स्वास्थ्य उपचारको बहाना बनाएर सम्पर्कविहीन भएका थिए। पछि उनी अमेरिका पुगेको खुलेको थियो।

    स्थानीय स्रोतका अनुसार थापामाथि केही व्यक्तिलाई गैरकानुनी रूपमा पैदल मार्ग हुँदै अमेरिका पुर्‍याएको तथा केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो। करिब साढे दुई वर्षपछि नेपाल फर्किएका उनी पुनः वडा कार्यालयमा सक्रिय देखिएका थिए।

    यता, थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको खुलेको छ। नगरपालिकाका अनुसार त्यसपछि भने उनको सेवा–सुविधा रोकिएको थियो।

    हाल थापा मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका छन् भने घटनासम्बन्धी थप तथ्य संकलन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।