काठमाडौं, वैशाख ३० - प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता रामबहादुर थापा बादल ले प्रयोग गरेका केही अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्याल ले ती शब्दहरू प्रतिनिधिसभा नियमावलीविपरीत रहेको ठहर गर्दै हटाउन निर्देशन दिएका हुन् ।
मंगलबारको संसद् बैठकमा बोल्ने क्रममा नेता बादलले प्रयोग गरेका केही शब्द असंसदीय रहेको भन्दै सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयलाई ती अभिव्यक्ति अभिलेखबाट हटाउन रुलिङ गरेका थिए ।
बुधबारको बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले कुन–कुन शब्द हटाइएको हो भनेर जानकारी माग गरेपछि सभामुखले त्यसबारे स्पष्ट पारेका थिए । सभामुखका अनुसार ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ भन्ने अभिव्यक्तिहरू संसद्को रेकर्डबाट हटाइएको हो ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ अनुसार ती शब्दहरू असंसदीय मानिएकाले हटाउन निर्देशन दिइएको बताएका थिए ।
यता एमाले सांसद गुरु बरालले भने बादलका अभिव्यक्ति मात्रै हटाएर एकपक्षीय व्यवहार गरिएको आरोप लगाए । उनले अन्य सांसदहरूले प्रयोग गरेका अमर्यादित शब्दहरू पनि समान रूपमा अभिलेखबाट हटाउनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस