१ जेठ २०८३ शुक्रबार | 15 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हवाई इन्धन बाहेक सबै इन्धनको माग घट्दै



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या ३०
  • विराटनगर, जेठ १ - नेपालमा वैशाख महिनामा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको छ । नेपाल आयल निगमको तथ्याङ्कअनुसार डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासको माग कम भएको हो ।

    सबैभन्दा धेरै गिरावट डिजेलको खपतमा देखिएको छ । चैतमा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाखमा घटेर १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको निगमले जनाएको छ ।

    पेट्रोलको खपत पनि घटेको छ । चैत महिनामा ५९ हजार ९३८ किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा ५८ हजार ६८० किलोलिटर मात्र खपत भएको तथ्याङ्क छ ।

    मट्टितेल र एलपी ग्यासको मागमा पनि कमी आएको छ । चैतमा १ हजार २८३ किलोलिटर मट्टितेल खपत भएकोमा वैशाखमा २४८ किलोलिटरमा झरेको छ भने एलपी ग्यास ३८ हजार ७९९ मेट्रिक टनबाट घटेर ३२ हजार ५६ मेट्रिक टनमा पुगेको छ ।

    अन्य इन्धनको खपत घटिरहँदा हवाई इन्धनको माग भने बढेको छ । चैतमा १८ हजार २४४ किलोलिटर खपत भएको हवाई इन्धन वैशाखमा बढेर १९ हजार ५५२ किलोलिटर पुगेको छ ।

    सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि इन्धनको खपत घट्न थालेको निगमको भनाइ छ । बिदाको प्रभाव विशेषगरी पेट्रोलको मागमा देखिएको बताइएको छ ।

    नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले निर्माण क्षेत्र सुस्त हुँदा डिजेलको खपत थप घटेको बताए । निर्माण सामग्रीको मूल्य बढ्दा धेरै आयोजना प्रभावित भएको र ढुवानी कम हुँदा इन्धनको माग घटेको उनको भनाइ छ ।