काठमाडौँ, जेठ ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले प्रतिनिधि सभाको ‘शून्य समय’ मा उठाइने जनसरोकारका विषयहरू सरकारले बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले सदनमा बारम्बार उठाइएका समस्यामा कुनै सुनुवाइ नभएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजना, सुकुम्बासीको जग्गा समस्या लगायतका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नदेखिएको बताए । विशेषगरी वर्षायाम नजिकिँदै गर्दा प्रभावित नागरिकका समस्या समाधानतर्फ राज्यको ध्यान नपुगेको उनको भनाइ थियो ।
उनले शून्य समय केवल औपचारिक प्रक्रिया वा क्यामेरामा रेकर्ड गर्नका लागि मात्र प्रयोग हुने हो भने यसको कुनै अर्थ नरहने तर्क गरे । संसद्मा उठाइएका विषय कार्यान्वयनमा नजाने अवस्था रहे शून्य समयको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उनले बताए ।
सांसद खरेलले सरकारलाई जनतासँग प्रत्यक्ष जोडिएका मुद्दामा संवेदनशील बन्न आग्रह गर्दै उठाइएका विषय तत्काल कार्यान्वयन प्रक्रियामा लैजान सुझाव दिए । त्यसका लागि शक्तिशाली आयोग वा विशेष समिति गठन गरेर समस्याको समाधानतर्फ अघि बढ्नुपर्ने उनको धारणा थियो ।
उनले यसअघि रास्वपाकै सांसद हरि ढकाल ले सरकारको बेवास्ताप्रति विरोध जनाउन सदनमा मौन धारण गर्नुपरेको प्रसङ्ग पनि स्मरण गरे । सांसदहरूले उठाएका जायज मागप्रति सरकार गम्भीर नबन्दा संसद्को गरिमा कमजोर बन्ने खतरा रहेको उनले बताए ।
सांसद खरेलले संसद्लाई जनताको आवाज उठाउने प्रभावकारी थलोका रूपमा स्थापित गर्न सरकार उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् । जनसरोकारका विषयमा तत्काल प्रतिक्रिया र समाधान खोज्न नसके संसद्प्रति नागरिकको विश्वास कमजोर बन्न सक्ने उनको चेतावनी थियो ।
प्रतिक्रिया दिनुहोस