काठमाडौं, जेठ १५ - सरकारले सरकारी कर्मचारीको तलबमा करिब २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको पारिश्रमिक वृद्धि गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार कर्मचारीको सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ । साथै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्दै नयाँ तलबमानको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको उनले बताए ।
हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिइएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे । विगत चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको अवस्थामा बढ्दो महँगीलाई ध्यानमा राखेर तलब समायोजन गरिएको उनको भनाइ छ ।
सरकारको यो निर्णयपछि ग्रेडसहित कर्मचारीले पाउने न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस