काठमाडौं, जेठ २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा उठेका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग उचित नभएको बताएका छन्।
सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल–भारत सीमा विवाद परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले सो विषयमा सम्बन्धित मन्त्रीले नै सरकारको धारणा प्रस्तुत गर्ने स्पष्ट पारे।
उनले विषयगत मन्त्रालयका मन्त्रीहरूले सदनमा दिने जवाफलाई नै सरकार, प्रधानमन्त्री र सत्तारुढ दलको आधिकारिक धारणा मानिनुपर्ने बताए। संसद्को अवरोध अन्त्य गर्ने विषयमा छलफल सकारात्मक दिशातर्फ अघि बढेको उल्लेख गर्दै उनले आवश्यक परे सम्बन्धित मन्त्रालयले संसद्मा थप स्पष्टिकरण दिन सक्ने जानकारी दिए।
बुर्लाकोटीका अनुसार बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए भने सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिने प्रयास पनि गरिएको थियो।
प्रतिक्रिया दिनुहोस