३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्याबिनेट बैठकमा फरक दृश्य : मन्त्रीहरूलाई डीडीसीका उत्पादन उपहार



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, जेठ २६ - सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अभियानलाई मन्त्रिपरिषद् बैठकबाटै अघि बढाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी छन्।

    डीडीसीले उत्पादन गरेका दूध, केशर दूध, बटर, चिज, दही र पेँडा समावेश प्याकेट मन्त्रीहरूलाई उपलब्ध गराइएको थियो। सरकारी स्वामित्वको संस्थानको उत्पादन प्रवर्द्धन गर्दै नेपाली किसानको उत्पादनलाई बजार सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको जनाइएको छ।

    बैठकमा डीडीसीको व्यावसायिक क्षमता विस्तार, दुग्धजन्य उत्पादनको बजार प्रवर्द्धन तथा संस्थानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। मन्त्री चौधरीले किसानको हित संरक्षणका लागि स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्ने आवश्यकता औंल्याएकी थिइन्।

    प्रधानमन्त्री शाहले स्वदेशी वस्तुको प्रयोग र उत्पादन वृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै डीडीसीजस्ता संस्थाको सुदृढीकरणले राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा व्यक्त गरेका छन्।

    सरकारले आन्तरिक उत्पादनको प्रवर्द्धन र आयातमा निर्भरता घटाउने रणनीतिअनुसार स्वदेशी वस्तुको उपयोग बढाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।