काठमाडौं, असार ११ - शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने क्रममा कुनै हतारो नगरिएको स्पष्ट गरेका छन्।
नतिजासम्बन्धी विभिन्न प्रश्न तथा सामाजिक सञ्जालमा उठेका चासोलाई ध्यानमा राख्दै उत्तरपुस्तिकाको नमुना परीक्षण र परीक्षाङ्क तथा डेटा इन्ट्रीको सत्यापन गर्न समिति गठन गरिएको उनले जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार गठन गरिएको समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव स्तरका प्रतिनिधिहरू सहभागी रहनेछन्। समितिले नतिजा प्रक्रियासम्बन्धी आवश्यक अध्ययन तथा परीक्षण गर्नेछ।
पछिल्लो समय राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियामाथि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला मन्त्री पोखरेलले बोर्डको कार्यप्रणाली पारदर्शी र विश्वसनीय रहेको बताएका छन्। आवश्यक जनशक्ति परिचालन तथा प्रशासनिक प्रक्रियामा सुधार गरी समयमै नतिजा सार्वजनिक गरिएको उनको भनाइ छ।
उनले नतिजा प्रकाशन नियमित प्रक्रिया अनुसार नै सम्पन्न भएको उल्लेख गर्दै विद्यार्थी तथा सरोकारवालाहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
यसैबीच, नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी, गालीगलौज वा दुर्व्यवहार नगर्न पनि मन्त्री पोखरेलले सबैलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस