काठमाडौं, असार २३ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित भएर बयान दिन निर्देशन दिएको छ।
विभागले सोमबार काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा पुगेर उपस्थितिका लागि सूचना टाँस गरेको जनाएको छ। सूचनामा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै तोकिएको अवधिभित्र उपस्थित हुन भनिएको छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउने क्रममा पुर्जी जारी गरिसकेको थियो।
जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा विभिन्न निकायमा उजुरी परेको छ। ती उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेका छन्।
अनुसन्धानकै सिलसिलामा विभागले उनलाई बयानका लागि सात दिनभित्र उपस्थित हुन औपचारिक सूचना जारी गरेको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस