काठमाडौं, असार २३ - एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र निजी क्षेत्रको विकासका लागि एडीबीले आगामी दिनमा अझ सघन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भएको भेटवार्तामा अध्यक्ष कान्दाले नेपाल अहिले आर्थिक विकासको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै दिगो र उत्थानशील अर्थतन्त्र निर्माणका लागि एडीबी नेपालसँग थप मजबुत साझेदारी गर्न तयार रहेको बताए। उनले सन् २०२९ सम्म नेपाललाई एडीबीबाट करिब २ अर्ब ४० करोड अमेरिकी डलर (झण्डै ३ खर्ब ६५ अर्ब रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराइने जानकारी दिए।
भ्रमणकै क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। यसमध्ये ११ करोड ५० लाख डलर सुरक्षित खानेपानी तथा ढल व्यवस्थापन परियोजनामा खर्च गरिनेछ भने ५ करोड डलर भन्सार प्रणाली आधुनिकीकरण, व्यापार सहजीकरण र डिजिटल सेवा विस्तारका लागि नीतिगत ऋण सहयोगका रूपमा प्रयोग गरिने जनाइएको छ।
अध्यक्ष कान्दाले एडीबीको सहयोगमा सञ्चालित विभिन्न विकास परियोजनाको अवलोकन गर्नुका साथै काठमाडौंका दुई सबस्टेसनको भर्चुअल उद्घाटन गरेका थिए। उनले भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालयको निरीक्षण गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) साक्षरता तथा शिक्षकको डिजिटल क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमको पनि शुभारम्भ गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा लगानी प्रवर्द्धन, निजी क्षेत्रको विस्तार, आर्थिक वृद्धि र व्यवसायिक वातावरण सुधारका विषयमा छलफल भएको एडीबीले जनाएको छ। साथै, निजी क्षेत्रका प्रतिनिधिसँग पनि लगानीका अवसर र चुनौतीबारे अध्यक्ष कान्दाले छलफल गरेका थिए।
एडीबीका अनुसार हाल नेपालमा करिब ४ अर्ब अमेरिकी डलर बराबरका विकास परियोजना सञ्चालनमा छन्। आगामी वर्षहरूमा रोजगारी, दिगो पूर्वाधार, डिजिटल रूपान्तरण, सार्वजनिक सेवा सुधार, महिला तथा जोखिममा रहेका समुदायको सशक्तीकरणलगायत क्षेत्रमा सहयोग विस्तार गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस