काठमाडौं, असार २३ - गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी व्यवस्थापनका क्रममा कुनै कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकार सुकुम्बासी समस्या समाधानप्रति गम्भीर रहेको बताए।
छलफलका क्रममा सांसद रेणु चन्दले सुकुम्बासी महिलाको अवस्था उठाउँदै, आफूलाई महिलाको ‘माइती’ भन्ने गृहमन्त्रीको भनाइ स्मरण गराउँदै विस्थापित महिलाका लागि गृहमन्त्रालयको ढोका खुला छ कि छैन भन्ने प्रश्न गरेकी थिइन्।
जवाफमा गृहमन्त्री गुरुङले गृहमन्त्रालय अहिले सबै नागरिक, विशेषगरी महिलाका लागि खुला रहेको उल्लेख गर्दै उनीहरूको आवाज सुन्न र आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले महिलासम्बन्धी हरेक विषयमा मन्त्रालय संवेदनशील भएर काम गरिरहेको पनि स्पष्ट पारे।
सुकुम्बासी व्यवस्थापनबारे बोल्दै उनले प्रक्रियाका क्रममा केही कमी–कमजोरी देखिएको हुन सक्ने स्वीकार गर्दै ती त्रुटि सच्याएर अघि बढ्ने बताए। सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा काम भइरहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस