२६ असार २०८३ शुक्रबार | 10 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ह्विल लकदेखि आत्मदाह प्रयाससम्म : त्रिपुरेश्वर घटनाको प्रत्यक्षदर्शी बयान



  • अञ्जना ढकाल
  • ६ घण्टा अघि
  • पाठक संख्या २९
  • काठमाडौं, असार २६ - त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनाबारे एक प्रत्यक्षदर्शी महिलाले महानगर प्रहरीको भूमिकामाथि प्रश्न उठाएकी छन्। घटनास्थलमा रहेकी रन्जु ढकालले नगर प्रहरी र गणेशबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर विवाद भएको दाबी गरेकी छन्।

    ढकालका अनुसार गणेशले केही समयका लागि मोटरसाइकल रोकेका थिए। महानगर प्रहरीले नो पार्किङ क्षेत्रमा बाइक नराख्न भनेपछि उनले केहीबेरमै हटाउने बताएका थिए। तर, त्यसअघि नै मोटरसाइकलमा ह्विल लक लगाएपछि विवाद बढेको उनको भनाइ छ।

    उनले करिब एक घण्टासम्म दुवै पक्षबीच भनाभन र छलफल भएको बताएकी छन्। उनका अनुसार पछि अन्य प्रहरी पनि घटनास्थलमा पुगेका थिए। छलफल चलिरहेकै अवस्थामा गणेशले शरीरमा पेट्रोल खन्याउँदै दौडिएको उनले बताइन्।

    “पेट्रोलका केही छिट्टा मेरो हातमा समेत परे। काखमा सानो बच्चा भएकाले म डराएर भवनतर्फ भागेँ,” ढकालले भनिन्।

    घटना भएपछि तत्काल उद्धारमा महानगर प्रहरीको भूमिका कमजोर देखिएको उनको आरोप छ। आगो लागेर गणेश ढलेपछि पनि प्रहरीहरू मोटरसाइकल व्यवस्थापनमा लागेको र स्थानीयले पानी ल्याएर आगो निभाएको उनले दाबी गरिन्।

    ढकालले घटनाको सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज जाँच गरी निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। पार्किङ नियम उल्लंघन गणेशको गल्ती भए पनि सामान्य विषयलाई ठूलो विवादमा परिणत हुन नदिन सबै पक्ष संवेदनशील हुनुपर्ने उनको भनाइ छ।

    “एउटा नागरिकको ज्यानभन्दा ठूलो कुनै वस्तु हुन सक्दैन। घटनामा जो–जो जिम्मेवार छन्, उनीहरूको निष्पक्ष छानबिन हुनुपर्छ,” उनले बताइन्।

    घटनाको वास्तविक अवस्था पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।