काठमाडौं, साउन १ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेर घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ।
देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगेर उपचार गरिएको थियो। आवश्यक उपचार सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्।
पछिल्लो समय स्वास्थ्य उपचारका सिलसिलामा हङकङमा रहेका देउवा सार्वजनिक कार्यक्रममा भने कमै देखिएका छन्। यद्यपि, पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हङकङका विभिन्न स्थानमा हिँडिरहेको भिडियो बेला–बेलामा सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएको छ।
देउवा गत १३ फागुनमा सिंगापुर एयरलाइन्समार्फत सिंगापुर पुगेका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा उनी हङकङ गएका थिए।
दुर्घटनापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको देउवानिकट स्रोतले जनाएको छ। हाल उनको स्वास्थ्यमा कुनै जटिल समस्या नरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस