१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ५६
  • काठमाडौं, साउन १० — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक समृद्धिमा सहभागी हुन स्वदेशमा लगानी गर्न आग्रह गरेका छन्।

    शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा बोल्दै उनले प्रवासी नेपालीहरू देशका महत्वपूर्ण सद्भावनादूत भएकाले नेपालको विकास र समृद्धिमा योगदान दिनुपर्ने आवश्यकता औँल्याए।

    अर्थमन्त्री वाग्लेले सरकार ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपालीलाई सरकारप्रति विश्वास राख्दै नेपालमा लगानी विस्तार गर्न आह्वान गरे।

    उनले वर्तमान सरकारले अर्थतन्त्रलाई पुनर्जीवित बनाउन कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएको बताउँदै लगानीकर्ताले निर्धक्क भएर नेपालमा पूँजी भित्र्याउन सक्ने वातावरण तयार गरिएको जानकारी दिए।

    लगानीबाट प्राप्त प्रतिफल सहज रूपमा विदेश लैजान सकिने व्यवस्था रहेको स्पष्ट पार्दै उनले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता योजनाहरू प्रवासी नेपालीको लगानी आकर्षित गर्ने उद्देश्यले अघि सारिएको बताए।

    उनका अनुसार सरकार निजी क्षेत्र र प्रवासी नेपालीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दीर्घकालीन आर्थिक विकास र रोजगारी सिर्जनामा केन्द्रित भएर अघि बढिरहेको छ।