१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘मन्त्रीलाई काठमाडौं ल्याउन लाखौँ खर्च गर्न सक्ने सरकारले जनतालाई राहत दिन तीन लाख खर्च गर्न सक्दैन ?’ : बासना थापा



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, भदौ २ - नेपाली कांग्रेसकी सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा र राहतसमेत उपलब्ध गराउन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कर्णालीका नागरिकले औषधि, राहत र दैनिक उपभोग्य वस्तुसमेत सहज रूपमा पाउन नसकेको अवस्थामा सरकारले मन्त्रीका लागि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टर प्रयोग गरेको भन्दै असन्तुष्टि जनाइन्।

    उनले कर्णालीमा पानी र खानपान नमिलेपछि एक मन्त्रीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन ठूलो रकम खर्च गरिएको उल्लेख गर्दै त्यस्तै प्राथमिकता सामान्य नागरिकको उपचार र राहतमा पनि देखाउन सरकारलाई आग्रह गरिन्।

    थापाले भनिन्, “मन्त्रीलाई काठमाडौं ल्याउन लाखौँ खर्च गर्न सक्ने सरकारले जनतालाई राहत दिन तीन लाख रुपैयाँ खर्च गर्न सक्दैन?”

    उनले आर्थिक रूपमा कमजोर परिवारलाई खाना जुटाउनसमेत कठिन भइरहेको अवस्थामा एउटा सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसक्नु सरकारको सुशासनको नमुना हुन नसक्ने बताइन्।

    कर्णालीका नागरिकको जीवन पनि मन्त्री र प्रधानमन्त्रीको जीवनजत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसद थापाले बिरामी नागरिकले समयमा अस्पताल पुग्न नसक्ने तर पहुँचवालाका लागि हेलिकोप्टर सहजै उपलब्ध हुने अवस्थामाथि प्रश्न उठाइन्।

    उनले सरकारले एकातिर ‘एक्सप्रेस वे’ जस्ता ठूला विकास आयोजनाको चर्चा गर्ने र अर्कोतर्फ कर्णालीका नागरिकले आधारभूत औषधि तथा राहतसमेत नपाउने अवस्था कायम रहनु विरोधाभासपूर्ण भएको बताइन्।

    “प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिक अस्पताल पुग्न नसक्ने अवस्था कसरी जनताको सरकार हुन सक्छ?” भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

    सांसद थापाले जनतालाई तत्काल आवश्यक पर्ने स्वास्थ्य सेवा, औषधि, खाद्यान्न र राहतमा प्राथमिकता दिन सरकारसँग माग गर्दै “के यही सरकारको असल सुशासन हो?” भन्दै प्रश्न गरेकी छन्।