काठमाडौँ, भदौ ५ - टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। लामो समयदेखि सुनुवाइ हुन नसकेको यो मुद्दालाई अग्राधिकार दिँदै पेसी तोकिएको बताइएको छ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षककी श्रीमतीले २०८० जेठ १६ गते चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
चौधरीलाई टीकापुर घटनासम्बन्धी मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो। त्यसपछि तत्कालीन सरकारले उनलाई आममाफी दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय कानुनी रूपमा उचित नभएको दाबी गर्दै दायर भएको रिट लामो समयदेखि सर्वोच्चमा विचाराधीन थियो। अब संयुक्त इजलासमा सुनुवाइ सुरु हुने भएपछि आममाफीको निर्णयसम्बन्धी विवाद फेरि न्यायिक परीक्षणमा आउने भएको छ।
प्रतिक्रिया दिनुहोस