१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालिका हत्याका दोषीलाई कडा कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६९
  • काठमाडौं, भदौ ७ - बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

    आइतबार युवाहरूले माइतीघरमा भेला भएर पीडित परिवारलाई तत्काल न्याय दिन र घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर महिला र बालबालिकामाथि हुने हिंसा तथा जघन्य अपराध रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्नुपर्ने माग गरे।

    प्रदर्शनकारीहरूले बलात्कार तथा हत्याजस्ता गम्भीर अपराधमा संलग्नलाई कडा कारबाही हुन नसक्दा अपराध दोहोरिने अवस्था सिर्जना भएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरूले यस्ता घटनामा संलग्नलाई कडा सजाय हुने गरी कानुन निर्माण गर्नुपर्ने र पीडित परिवारले न्याय पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन्।

    प्रदर्शनमा सहभागीहरूले पीडित गरिमा चौधरीको परिवार र सरकारबीच भएको सम्झौताको विषय पनि उठाएका थिए। घटना भएपछि पीडित परिवारसँग सम्झौता गर्नु मात्रै पर्याप्त नहुने भन्दै उनीहरूले यस्ता घटनामा ज्यान गुमाउने बालिका तथा महिलाको न्यायका लागि दीर्घकालीन र प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।

    सरकार र पीडित पक्षबीच शनिबार राति भएको सहमतिअनुसार जघन्य आपराधिक घटनामा विद्यमान कानुनमा रहेका कसुर तथा सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी नागरिकको अपेक्षाअनुसार कानुन तर्जुमा गर्न सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। प्रदर्शनकारीहरूले उक्त प्रतिबद्धता कार्यान्वयनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।