१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रहरीकै अनुसन्धान प्रोटोकलमाथि प्रश्न उठाउने गरी बालिका हत्या प्रकरणका आरोपी किशोरको भिडियो भाइरल



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७८
  • बारा, भदौ ८ - बारामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोप लागेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र गोपनीयतामाथि प्रश्न उठेको छ। हतकडी लगाइएको अवस्थामा प्रहरीको साथमा देखिएका किशोरलाई विभिन्न प्रश्न सोधिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो।

    अपराधका घटनामा अनुसन्धानका क्रममा अभियुक्त तथा पीडितको गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि संवेदनशील घटनाका आरोपीको भिडियो सार्वजनिक भएपछि यसको स्रोतबारे चासो बढेको हो। भिडियोमा किशोरसँग अपराधसम्बन्धी विभिन्न प्रश्न गरिएको देखिन्छ।

    बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उक्त भिडियो कुनै सञ्चारमाध्यमका पत्रकारले खिचेको नभई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला खिचिएको हो। उनका अनुसार त्यस समयमा प्रहरीका दुई जना ड्युटी अधिकृत पनि साथमा थिए र चिकित्सकले किशोरसँग प्रश्न गरेका थिए। त्यही क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा पुगेको उनको भनाइ छ।

    प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने संवेदनशील अनुसन्धानका क्रममा खिचिएका यस्ता भिडियो सार्वजनिक गर्नु प्रहरीको निर्धारित प्रक्रियाविपरीत भएको बताएका छन्। उनले प्रहरीले अनुसन्धानका क्रममा संकलन भएका अडियो तथा भिडियो सार्वजनिक नगर्ने र अभियुक्तलाई सार्वजनिक गर्दा समेत गोपनीयता कायम गर्ने प्रोटोकल रहेको स्पष्ट पारे।

    भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले घटनाबारे आन्तरिक रूपमा छानबिन थालेको छ। प्रवक्ता काफ्लेका अनुसार मधेश प्रदेश प्रहरी प्रमुखमार्फत सम्बन्धित जिल्लासँग जानकारी लिने काम भइरहेको छ भने प्रहरी प्रधान कार्यालयले समेत छुट्टै टोली बनाएर भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा अध्ययन गरिरहेको छ।