सिमरा : गत पौष २३ गते बाराको सिमरा आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह २४ दिनपछि काठमाडौं फर्कनुभएको छ । गत माघ १३ गते वीरगञ्जमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने मुल कार्यक्रम सहित पूर्व राजा शाह सिमरा आउनुभएको थियो ।
पूर्व राजा शाहका नातेदार समेत रहनुभएका स्व. प्रभू शमशेर जबराको सिमरा स्थित निवासलाई मुकाम बनाएर वहाँले बारा, पर्सा, रौतहट सर्लाही र मकवानपुरका विभिन्न स्थानहरुको भ्रमण गर्नुभएको थियो ।
पूर्व राजा शाहले बाराको गढीमाई मन्दिर, बीरगञ्जको गहवामाई मन्दिर, रौतहटको शिवनगरस्थित महादेव मन्दिर, सर्लाहीको बरहथवा स्थित मुक्तेश्वर महादेव मन्दिर, हेटौंडाको भुटनदेबी मन्दिर लगायतका मठ–मन्दिरहरुको भ्रमण गर्नुभयो ।
यस्तै बाराको आधाभारस्थित पर्सा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा रहेको मुसहर बस्तीको भ्रमण समेत गर्नुभयो । यस्तै पूर्व राजा शाहले सिमराको इच्छा होटलमा शुभेच्छुकहरुसंग विशेष भेटघाट समेत गर्नुभएको थियो ।
गत पौष २२ गतेनै सिमरा आउने कार्यक्रम भएपनि भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि वहाँ भोलिपल्ट सडकमार्ग हुँदै सिमरा आउनुभएको थियो ।
बुधबार वहाँ सडकमार्ग हुँदै फर्कनुभएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमूख डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस