१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मंसिरमा राजस्व संकलनमा ११ प्रतिशत गिरावट

कात्तिक महिनामा राजस्व १७ प्रतिशतले बढेको थियो भने मंसिर महिनामा राजस्व संकलन ११ प्रतिशतले घटेको छ।



Tax
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १०३
  • चालु आर्थिक वर्षको मंसिर महिनामा राजस्व संकलन ११ प्रतिशतले घटेको छ।

    आन्तरिक राजस्व विभाग र भन्सार विभागका तथ्यांक अनुसार, मंसिर महिनामा कुल ७६ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन गत वर्षको सोही अवधिमा संकलित ८६ अर्ब रूपैयाँ भन्दा कम हो।

    गत आर्थिक वर्षको साउन, भदौ, असोज, र कात्तिक महिनामा राजस्व संकलनमा क्रमशः २०, १३, ५, र ३० प्रतिशतले वृद्धि भएको थियो। तर, मंसिरमा ११ प्रतिशतको गिरावट देखिएको छ। कात्तिक मसान्तसम्म समग्र राजस्व १७ प्रतिशतले बढे पनि मंसिर मसान्तसम्म यो वृद्धि १० प्रतिशतमा झरेको छ।

    मंसिर महिनामा आयकरमा ४५ प्रतिशत र ब्याज करमा ३४ प्रतिशतले कमी आएको छ। यसले आन्तरिक राजस्वमा १८ प्रतिशतको गिरावट ल्याएको छ। यद्यपि भन्सार राजस्वमा सुधार देखिएको कारण समग्र कमी ११ प्रतिशतमा सीमित भएको हो।

    गत वर्ष मंसिरमा राजस्व संकलनमा ४७ प्रतिशतको उल्लेखनीय वृद्धि भएको थियो। यो वृद्धि विवादमा रहेको कर सेटलमेन्ट योजनाका कारण भएको थियो। आर्थिक ऐन २०८० अन्तर्गत विगतका वर्षहरूको नउठेको कर प्रणालीमा ल्याई तिर्ने योजना अनुसार मात्रै १६ अर्ब रूपैयाँ संकलन भएको थियो। यही कारणले गत वर्षको तुलनामा यो वर्ष मंसिरमा राजस्व गिरावट देखिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

    मंसिर मसान्तसम्म सरकारको राजस्व संकलन करिब चार खर्ब रूपैयाँ पुगेको छ, जुन ४ खर्ब ९५ अर्ब रूपैयाँको लक्ष्यभन्दा करिब १ खर्ब रूपैयाँ कम हो। आयकरमा सबैभन्दा ठूलो ग्याप देखिएको छ। सरकारको लक्ष्यअनुसार ७८ अर्ब ३८ करोड रूपैयाँ आयकर उठ्नुपर्नेमा ७८ प्रतिशत मात्रै संकलन भएको छ।

    साउनदेखि मंसिरसम्मको अवधिमा कुल आयकर ६२ अर्ब ७० करोड रूपैयाँ संकलन भएको छ, जुन गत वर्षको तुलनामा ४ प्रतिशतले कम हो। आन्तरिक भ्याट ५२ अर्ब ८२ करोड रूपैयाँ संकलन भएको छ, जुन १७ प्रतिशतले बढी हो। अन्तशुल्क ४७ अर्ब ३२ करोड रूपैयाँ उठेको छ, जुन २३ प्रतिशतले वृद्धि हो।

    चालु आर्थिक वर्षमा सरकारले ३८ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखे पनि विगतका कुनै पनि आर्थिक वर्षमा यस्तो वृद्धि हुन नसकेको देखिन्छ। अर्थमन्त्रालयका अधिकारीहरूले मंसिर महिनाको गिरावटलाई अस्वाभाविक भने मान्न नहुने बताएका छन्।