८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

२ वर्षदेखि ६ अर्ब रुपैयाँ नतिरेपछि एयरटेलले नेपालमा इन्टरनेट सेवा बन्द गर्यो

करिब ६ अर्ब रुपैयाँ भुक्तानी नगरेपछि भारतीय इन्टरनेट कम्पनी एयरटेलले नेपालमा इन्टरनेट सेवा बन्द गरेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १८१
  • काठमाडौं, माघ २१ - दुई वर्षदेखि इन्टरनेट ब्यान्डविथबापतको करिब ६ अर्ब रुपैयाँ भुक्तानी नगरेपछि भारतीय इन्टरनेट कम्पनी एयरटेलले नेपालमा इन्टरनेट सेवा बन्द गरेको छ। आइतबार साँझ ८ बजेपछि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका छन्।

    इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार एयरटेलबाट इन्टरनेट लिने वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेट लगायतका कम्पनीका सेवाग्राहीहरूले समस्या भोग्नुपरेको छ।

    पराजुलीले भने, "हामीले सरकारले पटक–पटक आग्रह गरिसकेका थियौं। दुई वर्षदेखि एयरटेललाई तिर्नुपर्ने पैसा रोकिएको छ। त्यसैले उसले नेपालमा इन्टरनेट सेवा जबरजस्ती बन्द गरिदियो।"

    उनका अनुसार सरकारको ढिलासुस्तीका कारण इन्टरनेट सेवामा समस्या आएको हो। ब्यान्डविथ खरिद गर्दा तिर्नुपर्ने रकम सरकारको सिफारिस नआएका कारण बैंकमा अड्किएको बताइएको छ।

    नेपालमा प्रयोग हुने झण्डै ७० प्रतिशत इन्टरनेट ब्यान्डविथ भारतीय कम्पनी एयरटेलबाट आउने गरेको छ। यदि शीघ्र समाधान नभए इन्टरनेट सेवा झन् गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

    आईएसपानले सरकारलाई विदेशी मुद्रा सटहीको सिफारिस तुरुन्तै उपलब्ध गराउन आग्रह गरेको छ। अन्यथा इन्टरनेट बन्दको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघको भनाइ छ।

    नेपालमा डिजिटल सेवा र प्रविधि विस्तारको चर्चा भइरहेका बेला सरकारकै नीति र ढिलासुस्तीले आम नागरिक तथा व्यवसायहरू समस्यामा पर्ने अवस्था सिर्जना भएको छ।