१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चौलानी नदीमा पहिरो खस्यो, नदी थुनिन सक्ने जोखिमपछि तटीय क्षेत्रमा उच्च सतर्कता



  • अञ्जना ढकाल
  • ३९ मिनेट अघि
  • पाठक संख्या २७
  • दार्चुला, भदौ १९ - दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदीको केही भाग पुरिएको र पहिरो झर्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

    प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। घटनास्थलतर्फ प्रहरी टोली पठाइएको र अवस्थाबारे थप विवरण संकलन भइरहेको उनले बताए।

    प्रशासनले शुक्रबार सूचना जारी गर्दै चौलानी नदी थुनिएर पानी एक्कासि फुट्न सक्ने सम्भावनालाई ध्यानमा राखी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    नदीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन तथा सुरक्षित स्थानतर्फ जान प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको छ।