काठमाडौं, फागुन २ - नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५, कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जना व्यक्ति त्रिशूली नदीमा बेपत्ता भएका छन्।
बिहान ११:५५ बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।
दुर्घटनास्थलमा फेला परेको नागरिकता र परिचयपत्रका आधारमा बेपत्ता व्यक्ति लमजुङको साविक चन्दरेश्वर गाविस-३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-१ बसोबास गर्ने २७ वर्षीय रोहित राना भएको खुलेको छ। उनी भारतीय सेना (इन्डियन आर्मी) का जवान रहेको प्रहरीले जनाएको छ।
राना करिब १५० मिटर तल त्रिशूली नदीमा खसेको आशंका गरिएको छ। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ।
प्रतिक्रिया दिनुहोस