काठमाडौं, चैत २६ – संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा तथा जुलुसको आयोजना गर्दैछ। सभालाई लक्षित गर्दै सुरक्षा निकायले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीन निकायका सुरक्षाकर्मीहरू प्रदर्शनस्थलमा खटिने भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार करिब दुई हजार प्रहरी – सादा पोशाक र बर्दी दुवै – बल्खु क्षेत्रमा खटाइनेछन्।
साथै, सशस्त्र प्रहरी बलले पनि आवश्यकतानुसार टोली परिचालन गर्ने तयारी गरेको छ। बल्खुमा हुने सभालाई शान्तिपूर्ण बनाउन निगरानी बढाइने र सीसी क्यामेरा, बडी क्यामेरा तथा ड्रोन प्रयोग गरी प्रदर्शनको अवस्थामाथि प्रत्यक्ष अनुगमन गरिने प्रहरीले जनाएको छ।
उच्छृङ्खल गतिविधि हुन नदिन विशेष निगरानीसहित कारबाही प्रक्रिया पनि अघि बढाइने बताइएको छ। गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि यस पटक सुरक्षा रणनीति अझ कडा बनाइएको हो।
चैत १५ को प्रदर्शनमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको विरोध कार्यक्रममा भएको झडपमा पत्रकार सुरेश रजग र सविन महर्जनको मृत्यु भएको थियो। सो घटनापछि सुरक्षाकर्मीको भूमिका र दमनप्रति चौतर्फी आलोचना भएको थियो।
राप्रपाले आजको प्रदर्शनमा ठूलो संख्यामा सहभागी हुने दाबी गर्दै उपत्यका बाहिरबाट समेत समर्थकहरू आउने जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बल्खुको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबारको प्रदर्शन सफल बनाउन कार्यसम्पादन समितिको बैठकले आवश्यक तयारी गरेको छ। उनले उपत्यकाका विभिन्न स्थानहरूबाट साढे ११ बजेपछि जुलुस निस्कने जानकारी दिए।
श्रेष्ठका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल, जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतका समूहले समेत राप्रपाको प्रदर्शनलाई समर्थन गरेका छन्। बागमती प्रदेशस्तरीय सभा भएकाले बागमतीका जिल्लाहरूबाट पनि ठूलो संख्यामा सहभागीहरू आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस