१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको पक्राउमा प्रहरी ज्यादती भएको भन्दै आयोगलाई रास्वपाको ज्ञापनपत्र

ज्ञापनपत्रमा लामिछानेको पक्राउ प्रक्रिया गैरन्यायिक रहेको र उक्त घटनाले पीडितको जिउज्यान तथा मानव अधिकार उल्लङ्घन भएको उल्लेख छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९०
  • काठमाडौँ, चैत २७ - सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीद्वारा ज्यादती र मानव अधिकार हनन भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ।

    बुधबार आयोगमा पुगेर प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपाका अन्य नेताहरूले आयुक्तहरूलाई भेटी घटनाको विस्तृत जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका हुन्।

    ज्ञापनपत्रमा लामिछानेको पक्राउ प्रक्रिया गैरन्यायिक रहेको र उक्त घटनाले पीडितको जिउज्यान तथा मानव अधिकार उल्लङ्घन भएको उल्लेख छ। सो ज्ञापनपत्रमा घटनाको पूर्ण विवरणसहित न्यायिक प्रक्रियाको अवस्था पनि समावेश गरिएको छ।

    रास्वपाले रविलाई बिना न्यायिक प्रक्रिया, गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गरेको छ। उल्लेखनीय छ, शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

    तर, आदेश जिल्ला अदालत नपुग्दै प्रहरीले सोही राति काठमाडौँको बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

    लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो।