काठमाडौं, वैशाख २६ - भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्व र तनावप्रति प्रतिनिधि सभा सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शुक्रबारको संसद बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै सरकारलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।
सांसद शिशिर खनालले कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएकोप्रति कडा भर्त्सना जनाउँदै भारत–पाकिस्तानबीच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरबारे सरकारलाई गम्भीर रुपमा विचार गर्न आग्रह गरे। उनले परराष्ट्र मन्त्रालयको वक्तव्यलाई स्वागत गर्दै पाकिस्तानमा अध्यनरत नेपाली विद्यार्थीको उद्धारका लागि तत्काल पहल गर्न माग गरे।
त्यस्तै, सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीचको तनावले दक्षिण एशियामा अशान्तिको संकेत देखिएको भन्दै नेपाल कुनै पनि प्रकारको आतंकवादविरुद्ध दृढ रहनुपर्ने बताए। उनले भारतमा रहेका लाखौँ नेपालीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताए।
सांसद सरस्वती सुब्बाले तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै खुला सिमाना, भूराजनीतिक दवाव र कूटनीतिक असन्तुलनका सम्भावनालाई ध्यान दिँदै भारत र पाकिस्तानसँग संवादको आवश्यकता औंल्याइन्। साथै, उनले नेपालले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सुरक्षासम्बन्धी रणनीति तयार पार्नुपर्नेमा जोड दिइन्।
भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाक प्रशासित कश्मीरमा मिसाइल आक्रमण गरेको जनाएको छ भने पाकिस्तानले पनि भारतका विभिन्न सैन्य शिविरमा जवाफी हमला गरेको दाबी गरिएको छ। दुवै देशका आक्रमणबाट सर्वसाधारणको ज्यान गएको रिपोर्ट सार्वजनिक भइरहेका छन्।
सांसदहरूले यस्तो अवस्थामा नेपालले निष्पक्ष कूटनीतिक धारणा राख्दै आफ्ना नागरिकको सुरक्षा र राष्ट्रिय हितलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस