काठमाडौं, जेठ २ – काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा झ्यापझ्याप बत्ती गएको विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण यस्तो भएको स्पष्ट पारेका छन्।
शुक्रबार स्युचाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले यो अवस्थालाई ‘लोडसेडिङ’ भनेर हल्ला फैलाउनु भ्रामक भएको बताए। उनका अनुसार विगत केही दिनदेखि देखिएको विद्युत आपूर्तिको अवरोध जलवायु परिवर्तन, हावाहुरी, तथा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमा देखिएको प्राविधिक समस्याका कारण भएको हो।
उनले भने, “हाम्रो आन्तरिक विद्युत उत्पादन करिब १४ सय मेगावाट मात्रै छ, तर पिक समयमा माग करिब २ हजार मेगावाट पुग्छ। यस अवस्थामा प्रसारण लाइनमा बढी लोड हुँदा ट्रिप हुने समस्या आएको हो।”
कार्यकारी निर्देशक शाक्यका अनुसार बालाजु र स्युचाटार क्षेत्रको लोडले प्रणाली चाँडै ओभरलोड हुने अवस्था सिर्जना भइरहेको छ। उनले आफैँ एलडीसी (लोड डिस्प्याच सेन्टर) मा बसेर समस्या अवलोकन गरेको जानकारी दिँदै भने, “प्रणाली कमजोर भएकाले उत्पादन भएर आएको विद्युतलाई काठमाडौंमा वितरण गर्दा बारम्बार ट्रिप भएको हो।”
उनले भारतबाट आयात हुने विद्युत ढल्केबर–मुजफ्फरपुर लाइनमा देखिएको समस्या र नेपालकै प्रणालीको सीमित क्षमताका कारण समस्या झनै बढेको उल्लेख गरे।
शाक्यले विद्युत प्राधिकरणको संरचना र प्रसारण प्रणाली सुधारका लागि थप लगानी आवश्यक रहेकोमा जोड दिंदै भने, “अहिले प्राधिकरणसँग लगानी अभाव भएको खण्डमा ऊर्जा क्षेत्रमा ठूलो संकट आउन सक्छ। उत्पादन त बढिरहेको छ, तर प्रसारण क्षमता नबढाउने हो भने सानो समस्यामा पनि ठूलो असर पर्न सक्छ।”
उनले तत्कालका लागि नागरिकलाई लोडसेडिङको डर नलिन आग्रह गर्दै समस्याको समाधानका लागि प्राधिकरण क्रियाशील रहेको बताए।
प्रतिक्रिया दिनुहोस