काठमाडौँ, जेठ १२ – चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न भनिएका दुर्गा प्रसाईंसहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु हुने भएको छ।
राज्यविरुद्धको कसुरमा उनीहरूलाई अभियुक्त बनाइएको छ। उक्त मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुनेछ।
यसैबीच, भाटभटेनी लुटपाट घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ११ जनाको बयान र थुनछेक पनि हुने भएको छ। उनीहरूको मुद्दा जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा सुनुवाइ हुनेछ।
सरकारी वकिल कार्यालयले उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा अभियोजन गरेको हो।
तीनकुने घटनापछि प्रहरीले थुप्रै व्यक्तिलाई पक्राउ गरेको थियो भने राजावादी आन्दोलनले व्यापक चर्चा पाएको थियो। अदालतमा बयान तथा थुनछेक प्रक्रिया सुरु भएसँगै अब घटनाको न्यायिक प्रक्रियाले औपचारिक रूप लिन थालेको छ।
प्रतिक्रिया दिनुहोस