काठमाडौं, जेठ १९ - सार्वजनिक यातायात बन्द भएको मौकामा राइड सेयरिङ सेवाले भाडा मनपरी बढाएको गुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिने चेतावनी दिएको छ।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवामा अनियमित शुल्क लिने प्रवृत्तिविरुद्ध कडा निगरानी गर्ने जनाएको छ। साथै, यात्रुहरूलाई अफलाइन माध्यमबाट सेवा नलिन पनि सचेत गराइएको छ।
आज सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधस्वरूप देशैभर सवारी साधन बन्द गराएका छन्। यसै सन्दर्भमा केही राइड सेयरिङ सेवाले भाडा वृद्धि गरेको गुनासो प्रहरीसम्म पुगेको हो।
यसबीच, राइड सेयरिङ सेवा प्रदान गर्दै आएको पठाओ कम्पनीले एक सूचना जारी गर्दै आफूहरूले कुनै पनि अतिरिक्त शुल्क नलिएको स्पष्ट पारेको छ।
“आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङ सेवाले भाडा वृद्धि गरेको समाचारहरू आएका छन्, जसमा पठाओको नाम समेत जोडिएको छ,” पठाओको सूचनामा उल्लेख छ, “हामी स्पष्ट पार्न चाहन्छौं कि हामीले नियमित शुल्क मात्रै लिएका छौं।”
पठाओले यात्रुहरूलाई अफलाइन सेवा नलिन पनि आग्रह गरेको छ।
यसरी बन्दको मौकामा सेवा उपलब्ध गराउने राइड सेयरिङ कम्पनीहरूलाई प्रहरीको निगरानीमा रहन र निर्धारित शुल्कमा मात्रै सेवा दिन चेतावनी दिइएको छ।
प्रतिक्रिया दिनुहोस