काठमाडौं, जेठ २५ - बजारमा आँपको आपूर्ति बढेसँगै मूल्यमा गिरावट आएको छ।
नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंका अनुसार अहिले बजारमा आँपको आपूर्ति अत्यधिक भएकाले मूल्य घटेको हो। ‘बजारमा आँप धेरै आइरहेको छ तर उपभोग कम छ,’ उनले भने।
हाल लहान क्षेत्रबाट ठूलो परिमाणमा आँप काठमाडौं बजारमा आइरहेको छ। उपभोक्ताले अहिले बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकारका आँप किन्न सक्नेछन्।
थोक बजारमा अहिले दसहरी आँपको मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ, मालदह र बमोई आँप ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
करिब दुई साताअघि मात्रै दसहरी आँपको थोक मूल्य १०५–११० रुपैयाँ, मालदहको १०० रुपैयाँ र बमोईको ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको थियो।
चौलागाईंका अनुसार आगामी असार १५ सम्म तराई क्षेत्रका आँप बजारमा आउनेछन् भने त्यसपछि पहाडी भेगका आँप आइपुग्नेछन्। उपभोक्ताले साउन अन्तिमसम्म बजारमा आँप किन्न सक्ने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस