२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईईको नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ९९
  • काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

    बोर्डका अनुसार यस वर्ष नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्ने योजना थियो। तर, उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण नतिजा प्रकाशन प्रभावित भएको हो।

    परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार गत चैतमा शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलाइ भएको हो। गत वर्ष चैत २० गतेदेखि वैशाख १७ गतेसम्म चलेको आन्दोलनका कारण उत्तरपुस्तिका समयमै परीक्षण गर्न नसकिएको उनले बताए।

    हाल उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएको र अंक इन्ट्री गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डा. भट्टराईका अनुसार इन्ट्री र प्रोसेसिङको सम्पूर्ण कार्य पूरा गर्न ३५ दिन लाग्ने छ।

    ‘शिक्षकहरूको आन्दोलनले ३२ दिन ढिलाइ भयो। तर हामीले यो ढिलाइ घटाएर १० देखि १६ दिनमै झार्ने प्रयास गरिरहेका छौँ,’ भट्टराईले बताए। उनका अनुसार बोर्डले डबल सिफ्टमा काम गरिरहेको छ।

    बोर्डले नतिजा असारको तेस्रो वा चौथो साता भित्र प्रकाशित गर्ने लक्ष्य राखेको छ। यद्यपि, तोकिएको मिति भने अहिलेसम्म सुनिश्चित भइसकेको छैन।

    २०७८ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए।

    नतिजा ढिलो हुँदा कक्षा ११ को भर्ना प्रक्रिया पनि प्रभावित हुने भएको छ। बोर्डको वार्षिक कार्यतालिका अनुसार नतिजा असार ६ गतेभित्र प्रकाशित गर्ने, असार २२ गतेसम्म पुनर्योगका लागि आवेदन लिन र साउन १२ गतेभित्र पुनर्योगको नतिजा प्रकाशन गर्ने भनिएको थियो।

    त्यसैगरी साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको थियो। तर, नतिजा प्रकाशनमा भएको ढिलाइले अन्य सम्पूर्ण कार्यतालिका पनि पछि सर्ने देखिएको छ।