काठमाडौँ, भदौ ५ - सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेकी छन्। बिहीबार थापागाउँस्थित लाखेचौर मार्गमा रहेको घरमा कार्यालय उद्घाटन गरी उनले राजनीतिक गतिविधि पुनः सशक्त रूपमा अघि बढाउने संकेत दिएकी हुन्।
उद्घाटन कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, कर्ण थापालगायतको उपस्थिति रहेको थियो। भण्डारी निकट स्रोतका अनुसार, यो कार्यालयमार्फत उनले आफ्ना राजनीतिक तथा संगठनात्मक गतिविधिहरू सञ्चालन गर्नेछिन्।
उक्त कार्यालयलाई औपचारिक रूपमा ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ। समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने भण्डारी संरक्षकको भूमिकामा रहनेछन्।
यसअघि मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो। तर, राजनीतिक विश्लेषकहरूले यसलाई भण्डारीको सक्रिय राजनीति फर्कने संकेतका रूपमा हेरेका छन्।
प्रतिक्रिया दिनुहोस