२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राज्यमाथि प्रश्न नगर्न चेतावनी दिन खोजिएको हो : पत्रकार दिलभुषण पाठक

पाठकले आफूविरुद्ध गरिएको कारबाही प्रेस स्वतन्त्रता र नागरिक समाजमाथि आक्रमण भएको प्रतिक्रिया दिएका छन्।



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ५७
  • काठमाडौं, असार २० - धरौटीमा रिहा भएपछि पत्रकार दिलभुषण पाठकले आफूविरुद्ध गरिएको कारबाही प्रेस स्वतन्त्रता र नागरिक समाजमाथि आक्रमण भएको प्रतिक्रिया दिएका छन्।

    बिहीबार जिल्ला अदालत काठमाडौंले पत्रकार पाठकलाई धरौटीमा रिहा गरेपछि थुनछेक बहसका क्रममा बोल्दै उनले भने, “दिलभुषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज, सिङ्गो पत्रकारिता जगतलाई हामीमाथि प्रश्न नगर, राज्यमाथि प्रश्न नगर भन्ने सन्देश दिन खोजिएको हो।”

    पाठकले आफूमाथि असान्दर्भिक विद्युतीय कारोबार ऐन प्रयोग गरेर मुद्दा लगाइएको भन्दै आपत्ति जनाए। उनले प्रेस काउन्सिल जस्तो नियमन गर्ने निकाय रहँदाहुँदै र आचारसंहिता एवं संवादका माध्यममार्फत त्रुटि सच्याउने विकल्प हुँदाहुँदै पनि आफूविरुद्ध मुद्दा लगाउनु डर देखाउने प्रयत्न भएको दाबी गरे।

    “समाचारसँग चित्त नबुझे संवाद गर्न सकिन्थ्यो, तर त्यसको साटो मुद्दा लगाइनु तर्साउने उद्देश्यले गरिएको हो,” उनले भने।

    हिल्टन होटलसँग सम्बन्धित विषयमा आफूले उठाएको समाचार लोकतन्त्र सुदृढ बनाउन र पारदर्शिता सुनिश्चित गर्नका लागि भएको उनको भनाइ थियो। “सम्बन्धित पक्षले जवाफदेही र पारदर्शी ढंगले सूचना सार्वजनिक गर्नुपर्छ भन्ने उद्देश्यले समाचार तयार पारिएको हो,” पत्रकार पाठकले स्पष्ट पारे।

    प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने खालका घटनाप्रति नागरिक समाज र सञ्चार क्षेत्रले चासो व्यक्त गर्दै आएका छन्।