१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बजेट छलफलका लागि संसद् खुलाउन रविको आग्रह



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ८५
  • काठमाडौं, जेठ २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गरी नियमित कामकारबाही अघि बढाउन विपक्षी दलहरूलाई आग्रह गरेका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा विवादित विषयमा सरकारको धारणा सार्वजनिक गरिसकेको भन्दै सदन सञ्चालनमा सहमति जुटाउन प्रस्ताव गरेका हुन्।

    बुधबार विपक्षी दलका नेताहरूसँग भएको छलफलमा लामिछानेले जनसरोकारका महत्वपूर्ण विषय र बजेटमाथिको छलफल लामो समय रोक्न नहुने धारणा राखेका थिए। उनका अनुसार परराष्ट्रमन्त्रीले संसदमा समेत आफ्नो भनाइ राख्न सक्ने भएकाले त्यसपछि सदनको कामकारबाही अघि बढाउन सकिन्छ।

    तर विपक्षी दलहरूले भने उक्त प्रस्तावमा समर्थन जनाएनन्। उनीहरूले प्रधानमन्त्री बालेन शाहले दिएको विवादित अभिव्यक्तिबारे स्पष्ट जवाफ आउनुपर्ने अडान दोहोर्‍याएका छन्। प्रधानमन्त्री स्वयं उपस्थित हुन नसके लिखित स्पष्टीकरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।

    छलफलमा सहभागी एक नेताका अनुसार लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्रीलाई जवाफ दिन अवसर दिनुपर्ने धारणा राखेका थिए। साथै प्रधानमन्त्रीले आवश्यक परे आगामी दिनमा थप स्पष्टिकरण दिन सक्ने उल्लेख गरेका थिए।

    छलफलमा नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएपछि त्यसलाई लिएर विवाद सुरु भएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीबाट माफी माग्नुपर्ने माग गर्दै लगातार संसद अवरोध गर्दै आएका छन्।