६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरमा पानीको अभावविरुद्ध समाजवादी युवा संघको विरोध प्रदर्शन



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ८२
  • जनकपुरधाम, साउन ११ – जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले पानी, मलबिउ र किसानका हकमा आवाज उठाउँदै विरोध प्रदर्शन गरेको छ।

    जनक चोकबाट सुरु भएको विरोध जुलुसले “भ्रष्ट सरकार पानी दे”, “किसान विरोधी सरकार होसियार”, “चुरे दोहन बन्द गर” जस्ता नारासहित जनकपुरको सडक तताएको थियो।

    संघीय र प्रदेश सरकारलाई लक्षित गर्दै युवा संघले दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ।

    संघीय सरकारलाई धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको चारबुँदे ज्ञापनपत्रमा प्रस्तावित भूमि विधेयक खारेज वा आवश्यक संशोधन गर्न, मलबिउको आपूर्ति सुनिश्चित गर्न, सुक्खा क्षेत्रलाई लक्षित दीर्घकालीन पानी योजना ल्याउन र कृषिकेन्द्रित नीति निर्माण गर्न माग गरिएको छ।

    त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाइएको आठबुँदे ज्ञापनपत्रमा अवैध चुरे दोहन तत्काल रोक्न, मल र खाद्य आपूर्ति व्यवस्थित गर्न, र प्रदेश सरकारद्वारा प्रस्तुत बजेटमा देखिएको दोहोरो रेडबुक सम्बन्धी छानबिनको माग गरिएको छ।

    विरोध कार्यक्रममा सहभागी युवाहरूले सरकारलाई किसान र कृषि क्षेत्रप्रति संवेदनशील हुन चेतावनी दिँदै माग पूरा नभए आन्दोलन थप चर्काउने बताएका छन्।