१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरमा धारिलो हतियार प्रहारबाट किशोरीको ज्यान गयो, दुई महिला घाइते

आक्रमणकारी फरार रहेको र उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४०४
  • जनकपुरधाम, साउन १३ — धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति भएको धारिलो हतियार आक्रमणमा एक किशोरीको ज्यान गएको छ भने दुई महिला घाइते भएका छन्।

    कटैयाचौरी नजिक राति करिब ११ बजे भएको उक्त घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा चतुर्वेदीले जानकारी दिइन्।

    घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

    अञ्चली आफ्नी आमासँग जनकपुरमा डेरा गरी बस्दै अध्ययन गर्दै आएकी थिइन्। घटनापछि आक्रमणकारी फरार रहेको र उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनाको प्रकृति गम्भीर रहेकाले अनुसन्धानलाई तीव्रता दिइएको छ। फरार व्यक्तिको खोजीका लागि टोली परिचालन गरिएको छ।