काठमाडौं, साउन १५ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पार्टीका नेता तथा पाल्पा प्रदेशसभा क्षेत्र नम्बर–२ (ख) का उम्मेदवार राजु गैरेमाथि हेल्मेटले प्रहार गरेको घटना सार्वजनिक भएको छ।
बुधबार काठमाडौंको विशालनगरमा केही साथीसँग चियागफमा बसेका गैरेमाथि कडायतले शारीरिक आक्रमण गरेका हुन्। सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनविरुद्ध पोष्ट गरेको आरोप लगाउँदै कडायतले गैरेलाई छुट्टै एकान्तमा लगेर हेल्मेटले प्रहार गरेका थिए।
घटनापछि गैरेले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफूले प्रहरीमा उजुरी दिएको बताएका छन्। साथै उनले दोषीलाई कारबाही नभए पार्टी कार्यालयमै आत्मदाह गर्ने चेतावनी दिएका छन्।
"सामाजिक सञ्जालमा के पोष्ट गरेको भनेर सोधियो, मले कुन पोष्ट भनेर उल्टै प्रश्न गरेँ। तर किन ममाथि आक्रमण भयो, अहिलेसम्म प्रष्ट छैन," गैरेले भने।
गैरेले फेसबुकमार्फत लेखेका छन्, "दोषीलाई जोगाउने प्रयास नगरियोस्। वार्ताको नाममा आक्रमणकारीलाई उन्मुक्ति नदिइयोस्। राजनीतिक शक्तिको दुरुपयोग नगरियोस्। यही पार्टीको कारण ज्यान दिनु परे पनि मलाई आपत्ति छैन।"
१८ वर्षसम्म राप्रपामा योगदान दिएको दाबी गरेका गैरेले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीको आन्तरिक व्यवस्थाप्रति कडा टिप्पणी गरेका छन्। अध्यक्ष लिङ्देनप्रति संकेत गर्दै उनले लेखेका छन्, "वैचारिक तर्क सुन्ने इच्छै नराख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्तिले पार्टी गम्भीर मोडमा पुगेको छ। चाकरी नगर्ने कार्यकर्ता तपाईंका नजरमा दुश्मनजस्तै भएका छन्।"
राप्रपाभित्रको आन्तरिक असन्तुष्टि र नेताबीचको मनोमालिन्य खुलस्त बन्दै गएको यो घटनाले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाबारे कडायत वा अध्यक्ष लिङ्देन पक्षबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस