६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साम्बाला होटलबाट चक्रे मिलनसहित ४८ जना पक्राउ, खुकुरी र रड बरामद



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ११५
  • काठमाडौँ, साउन १६ – राजधानीको महाराजगन्जस्थित साम्बाला होटलमा जन्मदिन मनाइरहेका चक्रे मिलन (मिलन गुरुङ) र उनका ४७ जना सहयोगी प्रहरीको विशेष अपरेसनमा पक्राउ परेका छन्।

    उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त टोलीले गएराति करिब १ बजे अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    चक्रे मिलन र उनका सहयोगीहरू केही दिनदेखि प्रहरीको निगरानीमा थिए। विशेषगरी भक्तपुरमा तीनवटा गाडीले बाटो छेक्दै हिँडेको भिडियो सार्वजनिक भएपछि प्रहरीको शंका गहिरिएको थियो। ती गाडीहरू चक्रे समूहका भएको पुष्टि भएपछि प्रहरीद्वारा निगरानी तीव्र बनाइएको थियो।

    "सडक आफैँको जस्तो व्यवहार गर्दै हिँड्नु गुण्डागर्दी नै हो भन्ने निष्कर्षपछि उनीहरूलाई पक्राउ गरिएको हो," उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

    गएको केही दिनदेखि मिलन समूहले जन्मदिनका विभिन्न कार्यक्रम गरिरहेको थियो। सोही क्रममा साम्बाला होटलको आठौँ तलामा आयोजना गरिएको जमघटमा प्रहरी पुगेर अपरेसन चलाएको हो।

    प्रहरीले पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, एउटा फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेको छ। पक्राउ परेकामध्येका एक, राहुल खड्काले ती वस्तुहरू आत्मरक्षाका लागि बोकेको दाबी गरेका छन्। "खुकुरी आत्मरक्षाका लागि साथमा राखेका हौं," उनले प्रहरीसमक्ष बयान दिएका छन्।

    प्रहरीले अब उनीहरूविरुद्ध संगठित आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।