वीरगञ्ज, साउन १९ – नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसूरको आरोपमा पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगञ्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार, क्रान्ति गुप्तासहित दुई व्यक्तिले दिएको जाहेरीको आधारमा तेलीलाई नियन्त्रणमा लिइएको हो। जाहेरीमा उल्लेख भएअनुसार, साहले आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा १० लाख र ६ लाख रुपैयाँका दुईवटा चेक दिएका थिए। तर, दुवै चेक बाउन्स भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार तेलीमाथि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। हाल उनी प्रहरी हिरासतमा छन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ ‘क’ बाट उम्मेदवारी दिएका तेली पछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। माओवादी प्रवेशअघि उनी जनता समाजवादी पार्टी नेपालमा आबद्ध थिए।
तेली यसअघि पनि विवादमा तानिएका थिए। मधेस प्रदेश सरकारबाट पर्साका किसानलाई अनुदानमा दिइने कृषि उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेको थियो। उनले नेतृत्व गरेको ‘जय महावीर कृषि सहकारी संस्था लिमिटेड’ मार्फत करोडौंको योजना ल्याएर कागजमै योजना सम्पन्न भएको देखाई बजेट अपचलन गरेको भनिएको थियो।
हालको बैंकिङ कसूरको मुद्दासँगै, उनका विगतका विवादहरू पुनः चर्चामा आएका छन्। प्रहरी अनुसन्धानपछि थप सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस