काठमाडौं, साउन २२ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक रहेका नेताहरूले थापागाउँमा नयाँ सम्पर्क कार्यालय सञ्चालनको तयारी गरेका छन्। मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा गठन गरिएको हिरक जयन्ती मूल व्यवस्थापन समितिका नाममा थापागाउँस्थित एउटा घर भाडामा लिइएको हो।
यस समितिको संरक्षक स्वयं पूर्वराष्ट्रपति भण्डारी रहेकी छन् भने नेतृत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्। ७५ सदस्यीय समितिले मदन भण्डारीका विचार तथा जनताको बहुदलीय जनवाद (जबज) बारे वर्षभर कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरेको थियो।
तर एमालेले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयसँगै नयाँ राजनीतिक मोड आएको छ। अब सोही समितिको नाममा एमालेभित्रको शक्ति संघर्षलाई अगाडि बढाउने रणनीति बनाइएको स्रोतहरू बताउँछन्।
नेताहरूका अनुसार हाल भाडामा लिइएको उक्त घर ऐतिहासिक महत्वको रहेको छ। सन् २०४८ सालको निर्वाचनमा स्वर्गीय नेता मदन भण्डारीले यही घरबाट चुनावी अभियान चलाएका थिए। त्यसपछि २०५१ सालको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले समेत यही स्थानबाट आफ्नो प्रचार अभियान सञ्चालन गरेकी थिइन्।
अब फेरि सोही स्थानलाई केन्द्र बनाउँदै भण्डारी पक्षधरहरूले राजनीतिक गतिविधि सञ्चालन गर्न लागेका छन्, जसले एमालेभित्रको आन्तरिक द्वन्द्वलाई झन् चर्काउन सक्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस