काठमाडौँ, साउन २७ - प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुशासनलाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित राष्ट्रिय सतर्कता केन्द्रको २४औं स्थापना दिवसको अवसरमा उनले सरकारी सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता रोक्न राज्यका सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र सचिवहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ, पारदर्शी र जिम्मेवार प्रशासन नै नागरिकको अधिकार भएको उल्लेख गरे। “विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्। कमजोरी देखिए खुलेर भन्नुस्, चाहे त्यो मेरो होस्,” उनले भने।
प्रधानमन्त्रीले पदमा रहेका तर भ्रष्ट आचरणमा संलग्न व्यक्तिले जनमानसमा सम्मान गुमाउने चेतावनी दिँदै, आफ्नो नाम प्रयोग गरी गलत काम गर्न खोज्नेहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिए।
संयुक्त राष्ट्रसंघको ‘नो वान लेफ्ट बिहाइन्ड’ अवधारणा उद्धृत गर्दै उनले नेपाललाई विकसित मुलुकमा रूपान्तरण गर्न सबै प्रकारका पछौटेपन हटाउन आवश्यक भएको बताए। असन्तुष्टि भड्काएर अराजकता मच्चाउने प्रयासबाट सावधान रहन आग्रह गर्दै उनले सतर्कता केन्द्रलाई सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस