काठमाडौँ, भदौ १ - नेपाल विद्युत प्राधिकरण (नेपा) को नाफा यस वर्ष घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले अघिल्लो वर्षभन्दा ३७.३२ प्रतिशत कम नाफा आर्जन गरेको छ।
प्राधिकरणका अनुसार यस वर्ष ९ अर्ब ६ करोड ७० लाख नाफा भएको छ भने अघिल्लो वर्ष १० अर्ब ५३ करोड नाफा कमाएको थियो। नाफा घट्नुको मुख्य कारण विदेशी मुद्रा विनिमय दर विशेषगरी जापानी येनको अधिमूल्यन, प्रशासनिक खर्चको बढोत्तरी र विद्युत बिक्री मूल्यमा आएको कमीलाई मानिएको छ।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार विदेशी मुद्रा उतारचढावकै कारण करिब ८ अर्बभन्दा बढी नोक्सानी बेहोर्नु परेको छ। साथै, बक्यौता रकम समायोजन र प्रावधान मिलाउने क्रममा थप नोक्सानी भएको उनले बताए।
तर, विद्युत विक्रीबाहेक अन्य स्रोतबाट पर्याप्त आम्दानी भएकाले प्राधिकरण आगामी वर्षमा नाफा वृद्धिको सम्भावना देखाइरहेको छ। २०८१/८२ मा मात्र प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्बभन्दा बढी पुगेको छ भने खर्च १ खर्ब २९ अर्ब नाघेको छ।
यस अवधिमा राष्ट्रिय प्रणालीमा ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ। जसमा प्राधिकरण र यसको सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट र निजी क्षेत्रबाट २९०.५ मेगावाट रहेको छ।
नेपालको आन्तरिक विद्युत खपत अघिल्लो वर्षभन्दा १०.७ प्रतिशतले बढेर ११ हजार ३१९ गीघण्टा पुगेको छ। यसैबीच विद्युत चुहावटमा पनि ०.४७ प्रतिशत कमी आएको छ।
हाल राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत जनतासम्म पुगेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस