काठमाडौं, भदौ ३ - कञ्चनपुरका विपिन जोशीलाई हमास समूहले बन्धक बनाएपछि उनको तत्काल रिहाइको माग गर्दै मंगलबार माइतीघरमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले “विपिनलाई घर फर्काइयोस्”, “विदेशिएका नेपालीको सुरक्षाको ग्यारेन्टी होस्” भन्ने माग राख्दै सरकारलाई दबाब दिन प्लेकार्ड बोकेका थिए। उनीहरूले नेपाल सरकारले कूटनीतिक पहल तीव्र बनाउनुपर्ने र नागरिकलाई आफ्नै देशमा सुरक्षित बस्ने वातावरण सुनिश्चित गर्नुपर्ने आवाज उठाएका छन्।
युवाहरू स्वतःस्फूर्त रूपमा भेला भएर विपिनको रिहाइका समर्थनमा हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गरेका थिए।
यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत विपिनको उद्धारका लागि कूटनीतिक प्रयास उच्चस्तरमा भइरहेको जानकारी दिएकी थिइन्।
विपिनको खोजी अभियानअन्तर्गत उनकी आमा र बहिनी हाल इजरायल पुगेका छन्। उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनलाई सुरक्षित रूपमा मुक्त गराउन पहल गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस