२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मधेशमा हैजाको प्रकोप तीव्र, २४ घण्टामा ११५ नयाँ संक्रमित



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १८३
  • काठमाडौं, भदौ १२ - मधेश प्रदेशमा हैजाको प्रकोप अझै तीव्र बनेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा मात्रै ११५ जना नयाँ संक्रमित थपिएका छन्।

    योसँगै प्रकोप सुरु भएदेखि हालसम्म संक्रमितको कुल संख्या ५४० पुगेको छ। तीमध्ये २५७ जना पूर्ण रूपमा निको भएका छन् भने २८३ जना सक्रिय संक्रमित रहेका छन्।

    हैजाले सर्वाधिक प्रभावित वीरगन्ज महानगरपालिकामा मात्रै नारायणी अस्पतालमा १५८ जना सक्रिय संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६२ जना नयाँ बिरामी भर्ना भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

    तराई अस्पतालमा हाल ४२ सक्रिय संक्रमित उपचाररत छन् भने १० जना नयाँ बिरामी थपिएका छन्। वीरगन्ज हेल्थ केयर अस्पतालमा २४ सक्रिय र ८ नयाँ संक्रमित पुष्टि भएको छ।

    बाराको कलैया अस्पतालले पनि हैजाको नयाँ केस दर्ता गरेको छ। संक्रमित बिरामीलाई हालै वीरगन्जको यात्रा गरेको इतिहास रहेको पाइएको छ। त्यस्तै, पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा ८ नयाँ संक्रमित थपिएको छ।

    स्वास्थ्य अधिकारीहरूले हैजा नियन्त्रणका लागि सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। दूषित पानी र खानाबाट फैलिने भएकाले सुरक्षित खानेपानी र पकाइएको खाना मात्र सेवन गर्न विज्ञहरूले सुझाव दिएका छन्।