१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वीरगन्जमा गृहमन्त्री लेखक : हैजा नियन्त्रणमा सेनासहित सुरक्षा निकाय परिचालन हुने



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २६३
  • वीरगन्ज, भदौ १५ – गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लाको वीरगन्जमा हैजा संक्रमणका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएका छन्।

    शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीलाई भेटी स्वास्थ्यकर्मीबाट अवस्था बुझेका हुन्।

    हैजा महामारी नियन्त्रणलाई प्राथमिकता दिँदै गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी तथा चिकित्सक टोलीलाई खटाइने जानकारी दिए। उनका अनुसार, आवश्यकता अनुसार सुरक्षा निकायमार्फत थप जनशक्ति, औषधि तथा उपकरण तत्काल उपलब्ध गराइनेछ।

    “नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिइने छैन। अस्पतालहरूले जनशक्ति वा औषधि मागेमा तुरुन्तै उपलब्ध गराइनेछ,” गृहमन्त्री लेखकले भने।

    यस्तै, महामारीको मूल कारण पहिचान र दीर्घकालीन समाधानका लागि विशेषज्ञहरूसँग परामर्श गरेर काम अघि बढाइने उनले उल्लेख गरे। हैजा प्रभावित क्षेत्रमा अवस्थाको निगरानीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना चिकित्सकलाई जिम्मेवारीसमेत तोकिएको छ।