काठमाडौँ, भदौ १७ - प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ मंगलबार तोकिएको छ।
सर्वोच्चको इजलास व्यवस्थापकीय निर्णयअनुसार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिट निवेदनमा बहस सुनिने भएको हो।
अधिवक्ता बिरेन्द्र केसीले दायर गरेको रिटमा जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि संविधानबमोजिम विश्वासको मत नलिएको कारण देखाउँदै ओली सरकार अब वैध नरहेको दाबी गरिएको छ। उनले यस्तो अवस्थामा सरकारले संवैधानिक हैसियत गुमाइसकेको भन्दै यसलाई ‘कामचलाउ’ घोषणा गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
उक्त रिट भदौ ५ गते दर्ता भएको हो। भदौ ६ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो भने भदौ ११ गते न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले दुवै पक्षलाई कागज पेस गर्न आदेश दिएको थियो।
अब मंगलबार तोकिएको पेसीमा यस विषयमा विस्तृत सुनुवाइ हुने छ।
प्रतिक्रिया दिनुहोस