काठमाडौँ, भदौ १८ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले दलहरूको हैन, बिचौलिया र दलाल पूँजीपतिहरूको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाएका छन्।
बुधबार राजधानीमा आयोजित अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकार कांग्रेस र एमालेको देखिए पनि वास्तविकतामा बिचौलियाको नियन्त्रणमा रहेको दाबी गरे।
‘राज्य कुन पार्टीको हातमा छ भन्ने प्रश्नमा कहिलेकाहीँ आफैँलाई पनि शंका लाग्छ,’ प्रचण्डले भने, ‘रूपमा कांग्रेस–एमाले मिलेर चलाएजस्तो देखिन्छ। तर सारमा राज्य दलाल र बिचौलियाले खरिदबिक्री गरेर नियन्त्रणमा लिएका छन्।’
उनले बिचौलियाले करोडौँ–अरबौँ खर्च गरी नेताहरूलाई किन्नेदेखि कर्मचारी भर्ना र निर्णय प्रक्रियामा समेत प्रभाव जमाउने प्रवृत्ति मौलाएको आरोप लगाए। ‘मैले त्यस्ता घातक अभ्यास रोक्ने प्रयास गर्दा, राम्रो गर्नेहरूलाई हटाउने षड्यन्त्रहरू हुँदै आएका छन्,’ प्रचण्डले कुलमान घिसिङ, कान्छाराम र इन्दिरा रानाको उदाहरण दिँदै भने।
भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले दलाल र बिचौलियाको प्रभुत्वविरुद्ध सबै महिला एकजुट भई सडक संघर्षमा उत्रनुपर्ने आह्वान गरे।
प्रतिक्रिया दिनुहोस